विप्लवले भने– विस्फोटको सत्यतथ्य जनतामा ल्याउछौं

विप्लवले भने– विस्फोटको सत्यतथ्य जनतामा ल्याउछौं
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले काठमाडौंमा भएको बम विस्फोटको बारेमा सत्यतथ्य जनतामाझ ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “जेठ १२ गते काठमाडौंमा भएको विस्फोटमा पार्टी, जनमुक्ति सेना, जवसका कमान्डर महान, दीपेन्द्र, प्रज्वल शाही र निरन्तरको सहादतले यस प्रकारको घटना कसरी हुनपुग्यो, त्यसको सत्यतथ्य जनतामा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।”
उनले जारी गरेको विज्ञप्तिमा यी सबै घटनाको मुख्य दोषी केपी सरकारको फासिवादी दमन रहेको उल्लेख गरेका छन् । त्यसैगरी उनले नेपालमा कम्युनिष्टको नाममा केपी–पीके कम्पनीले फासिवादको अभ्यास गरिरहेका आरोप लगाएका छन् । उनले झुठो मुठभेडका नाममा आफ्ना निशस्त्र कार्यकर्तालाई गोली हानी हत्या गरेको विरोधमा सोमबार नेपाल बन्द आह्वान गर्नुपरेको बताएका छन् ।