Sun. Nov 29th, 2020

वीरहरू

तिनीहरूका पङ्ख थिए । अरू मान्छे घस्रिएर बसे । तिनीहरूको हृदयमा बिजुली थियो, देशको तुसारोले झिलिक्क झिल्केर उठ्यो । अरूहरू काँपे । तिनीहरू पोस्तछन् स्वर्गबाट– जहाँ तिनका हातमा अप्सराहरू अमृतका प्याला चढाएर पर्खिरहन्छन् । अरूहरूले माटो खेती गरे । तिनीहरूले हामीहरूलाई आफू सम्झेर आफूलाई हराइरहेछन् ।

दुनियाँ तिनलाई आँसु लिएर युग–युगसम्म सम्झँदै रुँदो छ, किनकि हाम्रा परमेश्वरको चरणमा छिटो खुसीसँग चढेका स्वदेशी भाइहरू तिनै हुन् । हामी तिनकै झल्काले बाँचिरहेका छौँ, तिनीहरू नजिक हुनु हाम्रो आशाको चरम चुली छ ।

मृत्यु नै संसारको विशाल त्रास छ । हामी मर्दा स्वदेशी मुटु नकामेको देख्न चाहन्छौँ । नकाँप्नुमा हाम्रो जातिलाई विश्वासको स्थिरता छ । हामी आफ्नो स्वर्ग र ईश्वर सच्चा रहेछ भनेर शङ्का र त्रासहरू पन्साउँछौँ र हाम्रो मुटु अर्को युगसम्म सञ्चोसँग हाँस्न र खेल्न लाग्छ ।

वीर भनेको त्यो हो जो आफू सम्झँदैन । कीर्तिपिपासु बत्तीको झिल्के पुतली हो । स्वार्थनामेट नै वीरता हो । ‘म बहादुर हुँ’ को चैतन्य मानौँ आत्महत्याको आत्मप्रदर्शनी हो । समर्पणको भावना ईश्वरमा बिजुली मिल्दछ । एक इशारामा उफ्रने आत्मालाई म वीर भन्दछु– जो यताउति हेर्दैन, पछाडि फर्कँदैन ! उसका पुँजीका काँट नै त्यस्तै छन् । उसलाई केन्द्रमा छोइदेऊ । बस, झिलिक्क झल्किहाल्छ अनन्तताको मोहनी, अमृतको बिजुली !

सच्चा वीरमा विश्वासको जादु हुन्छ । ऊ एक झिलिकमा पुरुखा देख्तछ । दुस्मनको हाँकमा भन्दा अमरत्वको सहज विश्वासमा वीरको सच्चा टुना छ । ऊ ! आत्मा उचालियो ! खुट्टा पृथ्वीबाट उठे । समुच्च जीवन झल्कियो । उसले सत्य देख्यो । एकै निमेषभर पनि अनन्तको अमृत चाख्यो । अनि हेर, दुई सय कडोरका आँखा आश्चर्यमा टुल्टुलाएँ । ऊ मान्छेभन्दा कति माथि एक निमेषको पखेटामा उड्दछ ।

हामी ऋणमा डुबिरहेछौँ । दूधको भारा तिर्न हिचकिचाउनु कातरता हो ! के तिमीलाई विश्वास छैन कि तिमी माटो होइनौ ? के अनन्त साठी वर्षको रालसिँगानभन्दा पर छैन ? उताको अनन्तता यताको बोक्रे झोक्राइमा खेर फाल्नु ! डुब नानी ! गहिराइले अतासिने मोतीहरूबाट वञ्चित छन् । तर हाय ! एक अनन्तको झिलिमिलीले मलाई यतातिर तान्दछ । म उठ्नु एक विशाल मायाजालबाट मुक्ति पाउनु छ ! कातर आत्मा मान्दैन ! भोलिको पर्सिको होस नहुनु नै मेरो पार्थिवता हो । टाढाको नहुनु नै मेरो अन्धता हो । म खुम्चिन्छु । कम रोकावटको पथमा हार खाएर भागिरहन्छु । नजिकका क्षणहरू लोलाइरहन्छन् र क्षणलाई अनन्तको सर्वस्व सुम्पँदै त्रास र विकम्मापन साटेर दीनताको प्रदर्शनी देखाउँछु !

म किन झल्किनँ ? के वीरलाई परमेश्वरले सुनौला मौका पठाइदिएका हुन्छन् ? होइन, आत्माले मौका त्यहाँ पाउँछ जहाँ यसको भावना सग्लिएर अनन्तको प्रतिबिम्ब धारण गर्छ । परमेश्वरले नदिएको होइन ! मेरो स्वार्थले सबै क्षणहरू फुस्रो, धुस्रो बनाएको र तिनका टुनामा ध्वाँसो हालेको हो । के अस्ति भैँचालो गएन ? के एउटा केटाकेटी एक घरको भग्नावशेष पनि रोइरहेको थिएन ? मैले ती सुन्दर क्षणका आवाजहरू पर पन्साउँदै लोलुपताको वधिरता ग्रहण गर्ने राह लिएको थिएँ । के त्यो दिन आत्मा मसँग पुकार गरिरहेको थिएन ? त्यो पेटको भोको र आशाले वञ्चित ! मसँग धन थियो । ममा आत्मबल थिएन । ज्यान दिनुभन्दा सर्वस्व दिनु ठूलो कुरा हो र मलाई घिनलाग्दो लोलुपताले अघि सर्न दिएन ! अस्ति मात्र मैले फोस्रो इज्जतका निम्ति झुटो बोलेँ ! ममा वीरको ताज लगाउने जोश थिएन । म सत्यका निम्ति कति कम दान गर्न सक्तछु– सत्तरी रुपियाँको जागिर जाला भन्नेमा सत्तरी हजार नसा काँप्तछन् ! समाजको अन्धता खप्नुभन्दा सत्यको घाँटी रेट्न मलाई सजिलो लाग्छ र म मेरो आत्मासँग झुटो बोल्छु र दुनियाँसँग सच्चाइको सच्चरित्रताको दावा राख्तछु । अनि मेरो मुटु किन नकाँपोस् ?

मलाई रुनै मन लाग्छ, कहाँ–कहाँबाट आँसु भुलभुलाएर आउँदछन्, जब म आफ्ना स्वदेशका वीरहरूको नाम सम्झन्छु । मलाई त्यस्तै हुन मन लाग्दो हो । म यो मट्टीधूसन जीवनसँग तिनीहरूलाई हरहमेशा दाँजिरहेको हुँदो हुँ ।

नेपाली माटोमा किरण त्यहाँ झर्यो, बीउ त्यहाँ रोपियो र सुगन्ध त्यहाँ फुल्यो, जहाँ तिनीहरू जीवनको गुलाबी लाली पोख्तछन्, तिनका बास्नाहरू हावाले दूरतासम्म पुर्याएर अरूहरूलाई फुल्नको प्रेरणा गर्दछन् ।

छिः ! मलाई बराबर लाग्दछ, यो के जीवन ? माटो मुसारेझैँ, आँखा बन्द गरेर मुख उघारेझैँ सिँगानले र्‍यालधूसरता ! यहाँ के छ ? मेरो आत्मा त्यहाँ खोज्छ केही खँदिलो कुरा, जहाँ तिनीहरू बसेका छन् । 

म अविदितको यात्रामा जान चाहन्छु । स्वर्गको फिलिङ्गो चोर्न चाहन्छु ! महको माखा हुन चाहन्नँ ।

(‘लक्ष्मी निबन्ध संग्रह’बाट ।) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *