काठमाडौँबाट थानकोटसम्म गाडीमा पुगेपछि चन्द्रागिरि–चित्लाङको पुरानो गोरेटो बाटो हुँदै पहिलो पटक मार्खु पुग्दा मलाई संसारकै सुन्दर ठाउँमा पुगेको अनुभूत भएको थियो । चन्द्रागिरिको त्यो उकालो अनि ओरालो गोरेटो बाटोमा आफ्ना पैतालाको डोब छोड्दै चित्लाङ उपत्यकाको त्यो फराकिलो फाँट, वरिपरि हरिया डाँडा, पुरान झिँगटीका छाना, हाँसका कर्रकर आवाज अनि चित्लाङ खोलाको कलकल आवाजलाई पछ्याउँदै इन्द्रसरोवर ताल पुग्दा साँच्चै इन्द्रलोकको एक टुक्रा धर्तीमा झरे झैँ लागेको थियो । साँझमा तालको छेउछाउका होटल रिसोर्टबाट आएको सङ्गीतको गुञ्जन, आगोको रापमा पाक्दै गरेका मासुका विभिन्न परिकारको वास्ना अनि बत्तिको झिलिमिली प्रकाश तालको पानीमा तैरिरहेको देख्दा दिनभरी हिँडेको थकान पलभरमै मेटिएको थियो ।
बिहानीपख तालको पानीमा उठेको बाफको बादल, सूर्यको सुनौलो प्रकाश अनि रङ्गीबिरङ्गी डुङ्गामा सवार यात्रीहरूको चहलपहल जति हेरे पनि मन अघाएको थिएन । यस्तो लाग्यो यो ठाउँ छोडेर फेरि कोलाहल अनि उकुसमुकस पार्ने राजधानी खाल्टोमा पुनः जान नपरोस् तर जानु त थियो नै । जानुअघि मार्खुको सुन्दरतामा नतमस्तक भएर फेरि आउने वाचासहित मन अमिलो बनाएर फर्किएको थिएँ । त्यसपछि पनि मलाई मार्खुको सुन्दरताले बारम्बार लोभ्याइरह्यो । त्यसैले हरेक वर्ष प्रमिकालाई भेट्न गएजसरी म यो ठाउँ धाइरहन्छु ।
बर्खा सकिएसँगै देशैभर आन्तरिक पर्यटनको चहलपहल बढिरहेका बेला काठमाडौँको छेवैमा रहेको, प्राकृतिक छटाले भरिपूर्ण, नेपालकै पहिलो मानव निर्मित जलाशय अर्थात् इन्द्रसरोवर आसपासको मार्खु क्षेत्र भने सुनसान थियो । काठमाडौँ–दक्षिणकाली हुँदै हेटौँडा जोड्ने कतै व्यवस्थित त कतै धुलाम्मे सडक हुँदै शुक्रबार साँझ कुलेखानी मार्खु पुग्दा त्यहाँको दृश्य भने फरक थियो । जुन मेरो पहिलेको अनुभवसँग कहीँ कतै पनि मेल खाँदैनथ्यो । अधिकांश होटल, लज तथा रिसोर्टमा ताला लगाइएको थियो भने खुलेका केही होटल, रिसोर्टहरू पनि पहुनाको अभावमा झोक्राएर झैँ लाग्थ्यो । विगतका केही वर्षहरूमा सालैभर पर्यटक खचाखच हुने मार्खु वरपर अहिले आधा वर्ष सकिनै लाग्दा पनि चहलपहल शून्य प्रायः नै छ । मार्खु गहिरो सन्तापमा डुबेझैँ लाग्थ्यो ।