काठमाडौँ । नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले छोटो समयमा पनि राम्रो तयारी भएकाले चार देश सम्मिलित महिला ट्वान्टी–२० क्रिकेट शृङ्खलामा राम्रो प्रदर्शन गर्ने बताएकी छन् ।
नेपालले आगामी कात्तिक २९ गतेदेखि हङकङमा चार देश सम्मिलित ट्वान्टी–२० शृङ्खला खेल्दैछ । त्यसका लागि नेपाली महिला क्रिकेट टोलीले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा छोटो तयारी गरेको थियो । नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्दैछ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार एक कार्यक्रमको आयोजना गर्दै उनीहरूलाई बिदाइ गर्यो । सो अवसरमा पत्रकारसँगको कुराकानीमा नवनियुक्त कप्तान इन्दुले आफ्नो लागि समेत अवसरका रूपमा लिएको यस शृङ्खलामा राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरेकी हुन् ।