दुर्गा प्रसाईको दाबी : ओलीको सल्लाहमा ज्ञानेन्द्रलाई बोलाएँ, पारससँग फोनमा कुरा गराएँ

Music expresses feeling and thought, without language. It was below and before speech, and it is above and beyond all words.

Today Nepal

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) घोषित रूपमै नेपालमा संवैधानिक राजतन्त्र फर्काउने अभियानमा छ । राप्रपाको त्यो अभियान भन्दा आक्रामक ढङ्गले पछिल्लो समय दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान पनि राजा फर्काउन अभियानमा थपिएको छ । उनै प्रसाईले बुधबार झापाको दमकमा आयोजित कार्यक्रममा केही नयाँ र गम्भीर खुलासा गरेका छन् । उनले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पनि संवैधानिक राजतन्त्र ल्याउने पक्षमा रहेको दाबी गरेका हुन् । 

 

 प्रसाईले त्यति मात्रै भनेनन्, केपी शर्मा ओलीले आफू हिन्दु राष्ट्र  स्थापना र संघीयता खारेज गर्ने पक्षमा रहेको बताउने गरेको दाबी पनि गरे । ओलीसँगको सल्लाहमै झापाको मेची पुलमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ल्याएर कार्यक्रम गरिएको पनि प्रसाईको दाबी  छ ।उनले आफ्नै मोबाइलबाट ओली र पूर्वयुवराज पारस शाहको कुरा गराएको पनि जिकिर गरे । ‘केपी ओलीज्यूकै सल्लाहमा मैले राजा ज्ञानेन्द्रलाई मेची पुलमा ल्याएको हो,आज मैले दमकमा आएर सत्य कुरा गर्नुपर्छ । मेरै फोनबाट पारस सरकारसँग कुरा भएको हो केपी ओलीज्यूको । त्यो पनि मैले सत्य बोल्नैपर्छ । म पनि आउँछु त्यहाँ भन्नुभएको थियो’, उनको भनाइ थियो । 

प्रसाईले अगाडि भने, ‘मैले पनि होला भन्ने लागेर राजालाई बोलाइहालेँ । राजा पनि आउने हुनुभयो । सबै गरेपछि अहिले राजा नल्याऊ न नाति भन्नुभयो । मेरो पनि इज्जतको कुरा हो नि । म पनि कुमाई परिवारकै मान्छे हो । आठराईको पानी खा’को । अनि फर्किने कुरा भएन । अहिले दमकमा आएर यो दुःखको कुरा भन्नु परेको छ । मेरा हजुरबुबालाई भन्नुपर्छ ।’

प्रसाईले मेची पुलमा पूर्व राजा आएकै दिन एमाले अध्यक्ष ओली पनि झापा आएको स्मरण गरे । ‘राजा मेची जाँदा हजुरबा पनि दमक त आउनु भएकै हो नि ! तर कसोकसो गर्दा उहाँ कार्यक्रममा आउनु भएन । त्यसपछि हिक्मत कार्की, थापा दाजुभाइले दुर्गा प्रसाईलाई कारबाही गर्नुपर्छ भनेर दबाब दिएछन् । त्यो थाहा पाउने वित्तिकै मैले हजुरबुबालाई तपाईको झोला चाहिँदैन भनेर केन्द्रीय सदस्य छोडेको हुँ,’ उनले भने ।

ओलीकै गृहनगरमा झन्डै १ घण्टा भाषण गरेका प्रसाईले ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेसका सभापति शेरबहादुर देउवालगायतको मात्रै आलोचना गरेनन्, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ‘दलाल’ भन्नसमेत भ्याए । उनले  गभर्नर अधिकारीकै कारण देश टाट पल्टिँदै गएको दाबी गरे । 

अर्को प्रसंगमा प्रसाईले प्रदेशको नाम किराँत–लिम्बुवान राज्य बीचमा मिलाएर खस राज्य बनाउँदा हुने पनि बताए । ‘मेरो त संघीयतै खारेज गर्नुपर्छ भन्ने हो । यदि सकिँदेन भने किराँत–लिम्बुवान राज्य बीचमा मिलाएर खस राज्य बनाउँदा हुँदैन ? सकेसम्म हामी मिलेर बाँच्न पाए भएन ?,’ उनले भने । 

TAGGED: ,
Share This Article
Leave a comment