काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले देशलाई एकतावद्ध बनाएर लैजान राजनीतिक दलहरुलाई सुझाव दिएका छन् ।
शुक्रबार आफ्नो ७१ औं जन्मदिनको अवसर पारेर निर्मल निवासमा आयोजित कार्यक्रममा शाहले सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै पूर्खाहरुले आर्जेको मुलुक जोगाएर राख्ने दायित्व सबै देशबासीको भएको भन्दै पुर्खाहरुले जोगाएर राखेको देशलाई एकताको सुत्रमा बाँधेर अघि बढाउने जिम्मेवारी पनि राजनीतिक दलहरुको भएको पनि स्पष्ट पारेका हुन् ।
पूर्वराजा शाहले पद, प्रतिष्ठा र प्रशंशा भन्दा पनि आफनो निरन्तरको चाहना देशभक्ति भएको पनि उल्लेख गरेका छन् । उनले राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्न पनि सबैमा आह्वान गरेका छन् ।