सु-कर्म को बिरोध र अवरोध किन ?

Today Nepal
इतिहास साक्षी छ,
दिसाभ्रमित, दिग्भ्रमित भएको हाम्रो समाजलाई जब जब सु-कर्म र सु-कर्मीले देश र समाजलाई सु-कर्मको बाटो देखाउन जमर्को गर्छ तब तब पथ-भ्रष्ट विधर्मी जमात र आसुरी शक्ति आत्तिने गर्दछन र त्यस्ता पवित्र मानवतावादी सतकर्मलाई रोक्न र त्यसमा विघ्न-बाधा गर्न खुट्टा उचाल्ने गर्दछ, खुट्टा तान्ने असफल प्रयास गर्दछ र अन्त्यमा आफै असफल हुन्छन् तथा तिनको समुल नष्ट हुने गर्दछ ।
पुजा-पाठ, यज्ञ-हवन, पाठ-परायण, धर्म-कर्म, मानव-सेवा, समाजसेवा, धार्मिक अनुष्ठान, राष्ट्र कल्याण, मानव कल्याण, चराचर जीव र सम्पूर्ण विश्व कल्याण लगायतका सु-कर्म प्रारम्भ सँगै त्यस भूगोलका आसुरी – नकारात्मक शक्तिलाई प्रतिकुल असर पर्छ नै ।
त्यसैकारण ती कु-शक्ति सलबलाउने, आत्तिने, सन्तुलन गुमाउने, बौहुलाउने, बरबराउने, उक्त सु-कर्मलाई बिथोल्न र प्रतिकुल असर पार्न ती धुन्धुकारी विधर्मी शक्तिहरु सामुहिक रुप मै न्वारान देखिको बल लगाउनु स्वभाविक नै हो, त्यो नै त्यसको धर्म हो ।
ती र त्यस्ता प्रतिकुलता र नकारात्मक शक्तिको दुस्साहस एवं दुस्प्रभाव देखेर – भोगेर सु-कर्मको बाटो हिंडेका तथा संकल्प गरेका ब्यक्ति, समूह, शक्ति डराउनु वा आत्तिनु हुँदैन किनभने त्यो नै हाम्रो प्रमुख सफलता हो । हामी बुझ्न सक्नुपर्छ कि हामी हाम्रो लक्ष्यको नजदिक छौं । देश, समाज र परिवार शुद्धीकरण, सुदृढीकरण महाअभियान सफल हुँदै गरेको बुझ्न सक्नुपर्छ र अझ सम्पूर्ण शक्ति केन्द्रिकृत गर्दै आफ्नो लक्ष्यमा केन्द्रित हुनसक्नु पर्छ ।
इतिहास पल्टाएर हेर्दा हुन्छ, जब-जब सु-कर्म र धर्मको प्रभाव बड्न थाल्छ तब-तब विधर्मीहरुको सत्ता जरैदेखि हल्लिएको छ । त्यसको समुल नष्ट भएको छ ।
श्रीमद्भागवत गीताले भनेको छ,
“यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्‌ ॥ 4.7॥”
“परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्‌ ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ॥ 4.8 ॥”
त्यसैकारण श्रीमद्भागवत गीताको अर्को श्लोक हामीले कहिल्यै भुल्नु हुँदैन, हामी हाम्रो कर्म-पथमा सदैव दत्तचित्त भएर मन – कर्म – वचनले निरन्तर अगाडि बढ्न सक्नुपर्छ र त्यो नै मुक्ति-पथ हो, मानवतावाद हो ।
“कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ॥ ४७ ॥”
श्री मामाको घर अनाथ आश्रम, श्री छोरीको घर जेष्ठ आश्रम, श्री गौ संरक्षण अभियान तथा गौशाला निर्माण लगायतका अत्यन्तै महान्तम मानवतावादी सु-कर्मको लागि सहयोगार्थ काठमाडौंको श्री पशुपतिनाथ प्राङ्गणमा २०८१ अषाढ २८ गते पुर्वांग गरेर महायज्ञको सुरुआत र साउन १ देखि अन्य विविध धार्मिक, सांस्कृतिक कार्यहरुको श्रीगणेश भएको ऐतिहासिक दिब्य भब्य अविश्वसनीय अकल्पनीय अविस्मरणीय अद्भुत सफलता उन्मुख “श्री पशुपति विराट कोटीहोम महायज्ञ एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ तथा नेपाल महात्म्य – २०८१” को विभिन्न स्वरुपमा विधर्मी गिरोहले सामुहिक रुप मै न्वारान देखिको बल लगाएर विरोध गर्नु र हुनु भनेकै त्यसको सफलता हो, पवित्रताको प्रमाण हो, प्रमाणीकरण हो ।
त्यसैले अन्त्यमा यति मात्र भन्छु कि,
इतिहास र भावी सन्तति ले धिक्कर्ने मौका हामी कोहि कसैले नदिऊँ ।
सनातन धर्म, सभ्यता, संस्कृति तथा नेपाल, नेपाली, नेपालीपना र नेपालीत्त्व लाई माया गर्ने सम्पूर्ण एकजुट होऔं । भ्रम र काल्पनिक मनोगतवादिता तथा षड्यन्त्रकारी मायाजाल ले ओतप्रोत दामवादी दानवीय आसुरी सत्ता र शक्ति को जडैदेखी सम्पूर्ण अन्त्य गरौं । आफ्नो मौलिकताको संरक्षण प्रवर्द्धन जगेर्नका लागि एकजुट भएर लागौं । यो वैदिक सनातन मानवतावादी महाअभियान लाई सम्पूर्ण रुपले सफल बनाउनु हामी सबैको कर्तव्य र दायित्व हो भन्ने आत्मबोध सबैलाई होस् ।
सबैलाई समय मै चेतना भया ।।
राष्ट्रिय आराध्य देव श्री पशुपतिनाथले सबैलाई सद्बुद्धि प्रदान गरुन् ।।
मुक्ति अभिवादन सहित ।।
डा. मनोज कुमार झा
(डा. मनोज मुक्ति “विवेक”)
राष्ट्रिय संयोजक
राष्ट्रिय नागरिक आन्दोलन एवं राष्ट्र बचाउ अभियान
(केन्द्रिय कार्य समिती)
दिनांक :- २०८१/०४/१७ गते बिहीवार शुभम ।
Share This Article
Leave a comment